काठमाडौं,१९ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । काठमाडौंको कमलादीमा तिन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।
केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहँदा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा परिवारका सदस्य राखेको भन्दै आलोचनासमेत भएको छ । प्रचण्डले जनयुद्धमा होमिएका हजारौँ कार्यकर्तालाई बेवास्ता गर्दै सचिवालयमा छोरीलाई राखेको आरोप केही केन्द्रीय सदस्यहरुले लगाएका छन्।
तर केन्द्रीय सदस्य रेणु चन्दले भने प्रधानमन्त्रीले सचिवालयमा छोरी गंगा दाहाल राख्दैमा आलोचना गर्नुपर्ने कारण नभएको बताएकी छन् ।
महिलाहरुले मातृत्वमा सम्झौता गरेर जनयुद्धदेखि अहिलेसम्मका हरेक संघर्षमा योगदान दिइरहेको उनको भनाइ थियो।
उनले भनिन् ‘महिलाहरूले मातृत्वमा सम्झौता गरेर हरेक संघर्षमा योगदान दिएका छन्, बालबच्चालाई दूध खुवाउन पाएनन् श्रीमानले जति माया गरे पनि बच्चा जन्माउने त आमाले नै हो । तर यो पक्षको कहिले मूल्यांकन हुन्न। महिलाहरू पार्टीबाट पनि समानुपातिकमा थन्क्याइए। जिम्मेवारी पनि दिइन्न। कसैले जिम्मा पाए पनि यो वा त्यो रूपमा आलोचना हुन्छ। अहिले प्रधानमन्त्रीको सचिवालयमा पार्टी केन्द्रीय सदस्यगंगा दाहाल छिन्। उनको आलोचना गर्नुको अर्थ छैन, सबैथोक गुमाउने संकट बोकेर परिवारसहित युद्धमा होमिएको कुरा हेर्ने कि नहेर्ने? सचिवालयका सदस्यहरूले द्वेषपूर्ण आलोचनाको वास्ता नगर्नुस्। रचनात्मक सुझाव पालना गर्नुस।’