Logo

प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १९ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउन लागिपरेको बताए।

उनले भने, ‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिङ्गो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्ब झल्कन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ। प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’

प्रधानमन्त्री दाहालले हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुका मूल कारण पत्ता नलगाई तदर्थवादी ढङ्गले हामीले लक्ष्य हासिल गर्न नसकिने बताए। निर्धारण गरिएका लक्ष्यअनुसारका योजनालाई किन समयमै सम्पादन गर्न सक्दैनौँ भनि प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको उल्लेख गरे।

‘हामीले योजना तय गर्दा वस्तुसम्मत ढङ्गले योजना तर्जुमा गर्दैनौँ वा योजना निर्माण गर्ने प्रणालीमै खराबी हो? या हामीले दण्ड र पुरस्कार प्रणालीलाई कार्यान्वयन नगर्दा समस्या आएको हो ? हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुको मूल कारण पत्ता नलगाई तदर्थवादी ढङ्गले हामीले लक्ष्य हासिल गर्न सक्दैनौँ। यो विषयमा यहाँले गम्भीरतापूर्वक मनन् गरेर नीतिगत संरचनागत, व्यवहारगत कहाँ के चुनौती हुन समाधानतर्फ केन्द्रित हुनुहोस्’, प्रधानमन्त्री दाहालले भने।

आफू प्रधानमन्त्री नियुक्त भएपछि गरेका निर्णय तथा निर्देशन अझै प्रभावकारी कार्यान्वयन हुन नसकेकामा आपत्ति प्रकट गर्दै उनले निर्णय हुने तर कार्यान्वयन नहुने परिपाटीबाट मुक्त हुने कि नहुने यो विषय नै आजको मुख्य प्रश्न रहेको बताए। रासस



प्रतिक्रिया दिनुहोस्