Logo

सुन तस्करीमा राष्ट्रिय अन्तराष्ट्रिय गिरोह जोडिएका छन्, अनुसन्धानको जिम्मा सिआईबीले पाउनुपर्छः प्रवक्ता नेपाल प्रहरी



काठमाडौं, २० साउन । एक क्वीन्टल सुन तस्करी प्रकरणका मालिकहरु अहिलेसम्म पक्राउ परेका छैनन् । उक्त प्रकरणमा उच्च पदस्थ अधिकारी र राजनीतिक वृत्तका उच्च नेताहरुनै संलग्न रहेको आशंका गरिएको छ ।

हङ्कङबाट आएको एक क्वीन्टल अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले समातेको थियो । राजश्व अनुसन्धान विभागले गरिरहेको सुन तस्करी प्रकरणको अनुसन्धान सिआईबीलाई दिने तयारी सरकारको छ ।

यद्यपि सिआईबीलाई अनुसन्धानको लागि आधिकारिक पत्र आईनसकेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी कुवेर कडायत बताउँछन् । प्रस्तुत छ  समासामयिक आपराधिक घटना र अनुसन्धानको विषयमा प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमला  र प्रहरी प्रवक्ता कडायतबीच भएको संवादको सम्पादित अंशः

प्रहरीले सुन तस्करीमा संलग्नहरुलाई समाउन सक्छ ?

सुन तस्करीलाई हामीले अर्गानइज क्राइम हो भन्ने ठानेका छौं । यो अर्गानाईज क्राइम हो, यसलाई नेपाल प्रहरीले छानविन गर्नुपर्छ भनेर आधिकारिक हिसाबले आयो भने नेपाल प्रहरीले पहिलादेखि गरिरहेको आफ्नो पेसागत निष्ठालाई अगाडि बढाएर अनुसन्धान गर्छ । यसले धेरै हदसम्म अपराधीलाई नियन्त्रणमा लिने र निष्कर्षमा पुग्ने कोशिस गर्छौं ।

लामो समय भयो, नेपाल प्रहरीले पनि तस्करीको सञ्जाल तोड्न सकेन । सुन तस्करहरुलाई समाउन सकेन । प्रहरी यसमा किन चुकिरहको छ ?

सुन तस्करीमात्रै होईन जहाँ अन्तराष्ट्रिय गिरोह जोडिएको हुन्छ, त्यहाँ कतिपय कठिनाईहरु हुन्छन् । तर, नेपाल प्रहरीले गर्ने अनसन्धानमा बेलाबेलामा हामीले रेड नोटिसहरु जारी गर्ने, अथवा डिभिजन नोटिस जारी गरेर मान्छे समाएर ल्याएको र अनुसन्धान सफलताको सिढीमा पुगेको थुप्रै छ ।

सय किलो सुन प्रकरणमा चाहिँ नेपाल प्रहरी किन चुक्यो त ?

सय किलो सुन प्रकरणमा नेपाल प्रहरी चुकेको होईन ।

प्रहरीले एयरपोर्टबाट सुन आएको थाहा पाएन ?

एयरपोर्टमा जहाँबाट कार्गो आउँछ, जहाँ भन्सार छ, गोदाम छ, त्यहाँ नेपाल प्रहरीको एक्सिस् छैन । त्यहाँ नेपाल प्रहरीको सुरक्षा छैन । नेपाल प्रहरीको अनुसन्धान गर्ने दायित्व कानुनले तोकेको छ । आम शान्ति सुरक्षा भयो । अर्को पाटो हामीलाई दिइएको जिम्मेवारीको कुरा, अन्तराष्ट्रिय एयरपोर्टमा हेर्ने हो भने हामीलाई जिम्मेवारी दिइएको डिपार्चरको हो । अराईभलमा नेपाल प्रहरीको एक्सिस छैन । जिम्मेवारी छैन ।

नेपाल प्रहरीलाई त्यहाँ गएर काम गर्ने सबै ठाउँमा अधिकार छैन ?

एयरपोर्टमा सबै ठाउँमा एक्सिस छैन । अराईभलको एरियामा जहाँ भन्सारले सामन गोदाम गर्छ । त्यहाँ भन्सारको दायित्व हो । कुनै बेला आवश्यक पर्यो र उहाँहरुले डाक्नु्भयो भने नेपाल प्रहरी जाने हो । अन्यथा नेपाल प्रहरीको उपस्थिति छैन ।

सय किलो सुन प्रकरणमा नेपाल प्रहरीले जिम्मेवारी लिँदैन हो ?
जिम्मेवारी लिँदैन भन्ने होईन । राज्यको कानुन कार्यान्वयन गर्ने निकायले यो जिम्मेवारी लिने, त्यो जिम्मेवारी नलिने भन्ने होईन । यो भन्दा अगाडि पनि नेपाल प्रहरीले थोरै–धेरै सुनहरु समातेको उद्धाहरणहरु छ । त्यो पनि एयरपार्ट भित्र होईन, बाहिर समातेको । त्यो सूचनाका कारणले समातेको हो । सम्भवतः त्यो कुरामा नेपाल प्रहरीले सूचना नपाएको पनि हुनसक्छ । त्यो यरिया जहाँ भन्सार छ, भन्सारको गोदाममा प्राइभेट सेक्युरेटी छ । त्यो भन्सारको दायित्वभित्र पर्छ ।

सय किलो सुन प्रकरणका दोषीलाई पक्रन सक्नुहुन्छ ?

यो प्रकरण हुनेवित्तिकै हामीले यो अर्गानाईज क्राइम हो । यसमा राष्ट्रिय, अन्तराष्ट्रिय गिरोहहरु लागेका छन् । यसमा ठूलो चेन हुन्छ । अर्गानाईज क्राइममा कानुनले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएको छ । अर्थसँग जोडिएको कारण राजश्व अनुसन्धानले गरेको हो । प्रहरीलाई दिने भन्ने चाहिँ संकेत आएको छ । आधिकारिक रुपमा आइसकेको छैन । अर्गानाईज क्राइम हेर्ने स्वभाविक सिआईबी हो । तर, सिआईबीलाई पनि आधिकारिक हिसाबले पत्र आएको छैन । आशा गरौं केही दिनमा आउला ।

नेपाल प्रहरीले जिम्मेवारी लिन्छ ?

दियो भने लिन्छ । विगतका थुप्रै अनुसन्धानबाट देख्न सक्नुहुन्छ, नेपाल प्रहरीको सिआईबी लगायतका व्युरोहरु चाहिँ आफ्नो काममा पर्फेक्ट छन्, पेसागत निष्ठामा छन् भन्ने कुरा देखिएकै छ ।

नेपाल प्रहरी पनि राजनीतिक हस्तक्षेपको कारण बेला–बेलामा अनुसन्धानबाट चुकेको छ । ईतिहास साक्षी छ नि ?  ठूला–ठूला मान्छेलाई पक्राउ नगर्न दवाब आउँछ, तपाईहरुलाई डर छ ।

हरेक कुरामा राजनीति जोडिनु हुन्न । राजनीति नभए देशै चल्दैन । हाम्रो अनुसन्धानको एउटा प्याट्रन हुन्छ । अहिले पनि सफलता पाउन नसकेका ठूला ठूला घटनाहरु छन् । कतिपय १०/१२ वर्ष पछि पनि अनुसन्धानमा सफलता पाएको छ । अनुसन्धान निरन्तर त्यसमा लागिराख्ने चिज हो । अन गोइङ प्रसेस हो ।

धेरैको अनुमान छ, यस पटकको यो सुन तस्करीमा ठूला ठूला माछाहरु छन् । राजनीतिक कनेक्सन छ । तपाईँहरु कारबाही गर्नसक्नुहुन्छ ? त्यो हिम्मत छ नेपाल प्रहरीमा ?
तपाईले विगतमा देख्नुभएको छ, नेपाल प्रहरीकै उच्च ओहदाका पदाधिकारीलाई समातेको छ । नेपाल सरकारका उच्च पदाधिकारीहरुको पनि संलग्नता भएको छ भने समातेकै छ । कानुनले जे देखाउँछ, त्यसलाई समात्ने हो । यो उ भन्ने सरोकार हुँदैन ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot