Logo

प्रचण्डको विकल्प छैन, माओवादी अब सशक्त भएर जान्छः केन्द्रीय सदस्य दुलाल



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पार्टी नयाँ ढंगले सशक्त भएर अगाडि बढ्ने दाबी गरेका छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिको जारी बैठकले पार्टीलाई नयाँ जीवन दिने बताएका हुन् ।

‘बैठकको प्रारम्भमा नै अध्यक्ष प्रचण्डले यो बैठक माओवादीको जीवनमा नै एउटा चुनौति चुनौति हो । भयानक चुनौतिको रुपमा छ । पार्टी विघटनतिर जाने या नयाँ निर्माण भएर जाने संघारमा हामी छौं भन्नु भएको छ । हुन त सधैंभरी नै राजनीतिक जीवनमा चुनौति आइनै राख्छ । अहिले हाम्रो केन्द्रीय समितिमा चार दिनसम्म भएको वहसबाट प्राप्त भएको उर्जाको आधारमा माओवादी नयाँ आधारमा सशक्त भएर जान्छ,’– उनले भने ।

माओवादीमा अहिले प्रचण्डको विकल्पमा कोही नेता तयार भइनसकेको उनको दाबी छ । प्रचण्डले अहिले नेताहरुलाई परीक्षण र मूलाङ्कन गरिरहेको बताउँदै उनले कोही नेता आफूभन्दा अब्बल लाखेको खण्डमा प्रचण्डले उसैलाई नेतृत्व हस्तान्तरण गर्ने बताए ।

‘अहिले प्रचण्डकै नेतृत्वमा जान्छ । प्रचण्डलाई उछिन्ने गरी तयार हुनपर्यो नि त । पार्टीमा नेताहरु हुनुहुन्छ तर अहिले प्रचण्डभन्दा डानामिक तरिकाले लिड गरेर अगाडि जानसक्छु म भन्ने अहिले तयारी भइसकेको छैन ।’ दुलालले भने, ‘उहाँले उत्तराधिकारी तोक्नुहुन्न । उहाँले परीक्षण गरिराख्नु भएको छ । नेतृत्वको मूल्याङ्कन गरिराख्नु भएको छ । आफूभन्दा अरुले जुन दिन बढी गर्नसक्छन् जस्तो लाग्छ त्यो दिन उहाँले छोड्नुहुन्छ ।’

उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्षको विरोध नगरेको उनले दाबी गरे । ‘उहाँहरुले अध्यक्षलाई मान्छौं भन्नु भएको छ । उहाँहरुले हामीमध्ये को हो भनेर निर्णय गर्दिन पर्यो भनेर उहाँहरुले राख्नुभयो । अहिले प्रचण्डलाई आफैं गर्नसक्छु जस्तो लागेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्