काठमाडौं,२१ साउन । नेकपा एमालेबाट दुई वर्षअघि विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी पछिल्लो समय आन्तरिक किचलो र नेता कार्यकर्ताको पलायनले थिलथिलो बनेको छ ।
दिनप्रतिदिन नेता कार्यकर्ताले साथ छोड्दै गएपछि माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको भविष्य अन्यौलमा परिसकेको छ । नेकपा एसले वर्तमान राजनीतिक घटनाक्रम र आगामी राजनीतिक कार्यदिशाका बारेमा छलफल गर्न केन्द्रीय कमिटिलगायतका सबै कमिटिको बैठकसमते आव्हान गरेको छ । आउँदो केन्द्रीय कमिटिको बैठकका बारेमा एजेण्डा तय गर्न शनिबारबाट एसको स्थायी कमिटिको बैठक जारी छ ।
जारी बैठकमा सम्मानित नेता झलनाथ खनालले भने १६ पेजलामो लिखित दस्तावेज पेस गरेका छन् । ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’शीर्षक राखेर पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी नेतृत्वप्रति
आक्रोश पोख्दै दस्तावेज पेस गरेका छन् । दस्तावेजमा खनालले नेकपा एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।
दस्तावेजमा खनालले चुनावमा नेपाली कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको आरोपसमेत लगाएका छन् । उनले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने बताएका छन् ।
‘हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ । आफ्ना गल्तीहरूलाई स्वार्थ मुक्त भएर आटका साथ सच्याउनुपर्छ र पार्टीलाई सही वैचारिक– राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्छ । प्रधान राजनीतिक अन्तर्विरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठिक ढङ्गले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढङ्गले अघि बढाउनुपर्छ’
यस्तो छ जारी स्थायी कमिटिको बैठकमा खनालले पेस गरेको १६ पेज लामो लिखित दस्तावेज