Logo

सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्नु ठीक छः कांग्रेस नेता केसी



काठमाडौं, २१ साउन । नेपाली कांग्रेसको नेता जगदिश्वर नरसिंह केसीले संसद्को सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका सशक्त नभएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले सरकारमा कांग्रेसको भूमिका कमजोर भएको टिप्पणी गरेका हुन् ।

‘अहिले नेपाली कांग्रेस संसद्भित्रको सबैभन्दा ठूलो राजनीतिक दल भईकन हामी सरकारमा मात्रै छौं । भूमिका प्रधानमन्त्रीकै हुन्छ । सरकार सञ्चालनमा महत्वपूर्ण भूमिका भनेको त प्रधानमन्त्रीको हो । जति भूमिका नेपाली कांग्रेसको रहनु पथ्र्यो, त्यति भूमिका रहेन कि अलि कमजोर भयो कि भन्ने विषय वस्तुहरु यदाकदा प्रश्न उठ्ने गर्छ,’– उनले भने ।

उनले प्रमुख सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्च स्तरीय छानविन समितिको माग गर्नु ठीक भएको बताए । सिनामंगल पुगेपछि समातिएको उक्त एक सय किलोभन्दा बढी सुन भागबन्डा नमिल्दा समातिएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘एयरपोर्टबाट सुन निस्किएर सिनामंगल पुग्यो । सिनामंगल पुगेपछि किन, कसरी, के कारणले भागबन्डा मिलेन अथवा के भयो ? किन त्यहाँबाट समातियो ? यसमा धेरै विषयवस्त् छन् । अहिलेको प्रमुख प्रतिपक्ष दलले संसद् अवरुद्ध गरेको छ । उच्च स्तरीय छानविन समिति गठनका लागि तयार हुनुपर्छ । यत्रो ठूलो काण्ड मच्चेको छ । यत्रो ठूलो सुन तस्करीका विषयमा समस्या उठिसकेपछि संसद्भित्र उच्च स्तरीय आयोग बनाएर निश्पक्ष छानविन गर्नका लागि माग गरेको बेठिक छैन,’– उनले भने ।

सरकारले सुन तस्करी प्रकरणमा भरियालाईमात्रै समातेर उन्मुक्ति नपाउने उनको भनाई छ । अहिले जो–जसमाथि संका र लान्छना लागेको छ उनीहरुलाई निश्पक्ष छानविनको दायरामा ल्याउन आवश्यक रहेको पनि उनले बताए । सुन तस्करी प्रकरणमा सरोकार राख्ने गृह मन्त्री र अर्थमन्त्रीले पनि संसद्मा जवाफ दिनुपर्ने र उक्त जवाफ चित्त नबुझे उच्च स्तरीय छानविन समिति बनाउन पर्ने उनको भनाई छ ।

‘झोला बोकेर हिँड्नेलाई समातेर सरकार चोखिन पाउँदैन । यसको गहिराईमा पुग्नुपर्छ । यो विषयमा ज–जसमाथि लान्छना लागेको छ, उहाँहरुले संसद्लाई चित्त बुझ्ने गरी बोल्न पाउनुपर्छ । जवाफ चित्त बुझेन भने उच्च स्तरीय समिति बनाउन पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्