Logo

स्थायी कमिटिमा झलनाथको दस्ताबेज ‘पार्टीमा जबजकै धङधङी कायम रहँदा कार्यकर्ता एमालेमा पलायन भए’



काठमाडौं,२१ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटि बैठक जारी छ । शनिबारदेखि जारी बैठक आजपनि बस्दैछ । जारी स्थायी कमिटि बैठकले आगामी केन्द्रीय कमिटि बैठकका एजेण्डा तय गर्नुका साथै पार्टीलाई नयाँ ढंगबाट कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

दुई वर्षअघि नेकपा एमालेबाट फुटेर नेकपा एस गठन गरेका माधवकुमार नेपाललाई पछिल्लो समय कार्यकर्तादेखि नेताहरुसमेतले एक्ल्याउँदै गएका छन् । पार्टी विभाजनको बेलामा दरिलो साथ दिएका नेता कार्यकर्ताहरु नै पछिल्लो समय अध्यक्ष नेपालके कार्यशैलीप्रति तिब्र असन्तुष्ट रहेका छन् । धेरै नेता कार्यकर्ताले साथ छोड्दै गएका छन् भने कतिपय अझैपनि पार्टी नेतृत्व सुध्रिनेमा आशावादी बनेर पर्खिरहेका छन् । पार्टीका पछिल्लो समय अुन्तुष्ट रहने शीर्ष नेताको सूचीमा सम्मानित नेता झलनाथ खनालदेखि सचिव रामकुमारी झाँक्रीलगायत रहेका छन् ।

पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका उनै सम्मानित नेता खनालले भने जारी स्थायी कमिटिको बैठकमा १६ पेज लामो आफ्नो दस्ताबेज दर्ज गराएका छन् । ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’शीर्षक राखेर दस्ताबेज पेस गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी नेतृत्वप्रति आक्रोससमेत पोखेका छन् ।

दस्ताबेजमा खनालले पार्टी कमजोर हुनुमा नेतृत्वको कार्यशैलीदेखि एमालेले अपनाएको जनताको बहुदलीय जनवादसमेतलाई लिएका छन् । उनले एमालेले अवलम्वन गरेको जवजलाई नेकपा उसले पनि अपनाएको जवजलाई स्वीकार गरेको कारण नेता कार्यकर्ताले साथ छोडेको उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ ? देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र (एमाले) मा पनि जबज कै धङधङी छ । त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भईरहेको छ ? हामी भित्र कहाँ कमजोरी छ? कुन कमजोरीका कारणले यस्तो भईरहेको छ ? हामीले यी सम्पुर्ण कमि कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ,तिनीहरुलाई निर्ममता पुर्वक हटाउनुपर्छ,बैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल,संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्र्तविरोध र प्रधान प्रतिद्धन्दीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउदै अघि बढ्नुपर्छ । तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ’ । खनालले लेखेका छन् ।

आफ्नो दस्ताबेजमा खनालले पार्टीलाई चलायमान बनाउन चाल्नुपर्ने आगामी कदमको बारेमा समेत उल्लेख गरेका छन् । उनले भनेका छन् ‘हामीले हाम्रो पार्टीलाई दक्षिणपंथी कार्यदिशाबाट होइन प्रष्ट रुपले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ । विगत दुई वर्षको अनुभवहरुको निर्मम ढङ्गले समिक्षा गर्नुपर्छ । गलत दृष्ट्रिकोण नीति र अडानबाट पार्टीलाई मुक्त, गर्नुपर्छ । पार्टीका सहि बैचारिक– राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य,क्रान्तिकारी कार्यशैली,कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेसन यथाशीघ्र गर्नुपर्छ । यो कार्यदिशाबाट अघि बढ्ने हो भने छोटो समयमा आशातित परिवर्तन अनिवार्य छ ’।

तत्कालिन एमालेमा पनि वरिष्ठ नेता रहेका खनाले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज)का कट्टु आलोचक हुन् ।खनालले एमालेमा छँदा जवजलाई दक्ष प्रजापतिको शीरसमेत भन्न भ्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot