काठमाडौं,२१ साउन । तेक्वान्दोकी अन्तर्राष्ट्रिय रेफ्री रमिला खत्री सम्मानित भएकी छन् । उनलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले पोखरामा सम्मान गरेको हो । पोखरा रुपा गाउँपालिका वडा नम्बर ५ देउरालीकी रमिला कास्कीबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल मध्येकी एक हुन् ।
यसअघि उनलाई रुपा गाउँपालिकाले पनि सम्मान गरेको थियो । सानै उमेरबाट तेक्वान्दोमा लागेकी रमिलाले काठमाडौँलाई आफ्नो कर्म थलो बनाएकी छन् ।
कक्षा नौ मा पढ्दा नै ब्ल्याक बेल्ट पाउन सफल उनले विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् ।
उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीका रुपमा स्वर्ण पदक पनि जितेकी छन् ।
रमिलालाई पोखरा रंगशालामा आयोजित एक कार्यक्रमबीच एकेडेमीका गण्डकी प्रदेश सह—इन्चार्ज कृष्ण तिमिल्सिना,एकेडेमीका केन्द्रिय सदस्य तिलकबहादुर अधिकारी, केन्द्रीय सदस्य शान्तबहादुर बस्नेत, कास्कीका अध्यक्ष रामजीप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुनबहादुर लामा, एकेडेमीका सचिव दिपक आचार्य, कोषाध्यक्ष विजय भुजेललगायतले सम्मान गरेका थिए ।