काठमाडौं,२१ साउन । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदातामा सिमित बनाईदिएको गुनासो गरेका छन् ।
नेकपा एसको जारी स्थायी कमिटीको बैठकमा आफ्नो १६ पेज लामो दस्ताबेज पेस गर्दै खनालले माओवादी र कांग्रेसले आफ्नो दललाई प्रयोग गरेर सत्तामा पुग्ने भरर्याङमात्र बनाएको गुनासो गरेका हुन् । उनले जारी बैठकमा १६ पेज लामो दस्ताबेज पेस गरेका छन् । दस्ताबेजमा पार्टी नेतृत्वको कार्यशैलीदेखि नेता कार्यकर्ताको पलायन र पार्टीको आगामी कार्यदिशाको बारेमा समेत उल्लेख गरेका छन् ।
दस्ताबेजमा खनालले स्थानीय निकायको चुनाव शीर्षकमा लेखेका छन् ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदातामात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराई दियो । कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो’ ।
दुई वर्षअघि नेकपा एमालेबाट फुटेको नेकपा एस गएको स्थानीय तहहुँदै प्रदेश र संघको निर्वाचनमासमेत गठबन्धन दलसँग मिलेर चुनाव लडेको थियो । चुनाव प्रचार प्रसारमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २० लाख मत ल्याउने भाषण गरेपनि आम निर्वाचनमा ३ लाख मत कटाउन नसक्दा पार्टी राष्ट्रिय दलसमेत बन्न सकेको थिएन् । आम निर्वाचनपछि नेकपा एसमा नेता कार्यकताहरु तिब्र असन्तुष्ट रहँदै आएका छन् । भने धेरै नेता कार्यकता पुरानै घर एमालेमा फर्किसकेका छन् ।