Logo

एमाले सचिव विष्टको दाबी: एमालेले मात्रै मुलुकलाई संकटमुक्त बनाउन सक्छ



काठमाडौं,२१ साउन । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् ।

आइतबार नेकपा एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

आर्थिक-सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको विष्टको भनाई छ ।

उनले भने,‘नेपालले आज जुन प्रकारका गम्भीर संकट सामना गरिरहेको छ । यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक-सामाजिक रुपान्तरणमार्फत् नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाइ हाम्रो पार्टीले गरिरहेको छ । देशमा उदार पूँजीवादमार्फत् नेपाली समाजलाई पूँजीवादतिर धकेल्ने अनेकन प्रयत्नहरू चलिरहेको छ । यसबाट जोगाउँदै राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक-सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा हाम्रो पार्टी अगाडि बढिरहेको छ ।’

सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गईरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यकता औँल्याए ।  file photo 



प्रतिक्रिया दिनुहोस्