काठमाडौं,२१ साउन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी खिइँदै गएर रावणको टाउको जस्तो बनेको टिप्पणी गरेका छन् ।
नेकपा एसको शनिबारदेखि जारी स्थायी कमिटिको बैठकमा आफ्नो १६ पेज लामो फरक मत दर्ज गर्दै खनालेले अहिले पार्टीमा कुनै उत्साहजनक अवस्था नरहेको उल्लेख गरेका छन् । खनालले आफ्नो पार्टीलाई रावणको टाउकोसँग तुलना गरेका छन् ।
उनले भनेका छन्‘युवा र विद्यार्थी संगठनमा पनि निराशा छ ।आमकार्यकर्ताहरुमा निराशा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भइरहेका छन् । हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको छ। त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ। हुनुपर्ने ठीक उल्टो हो।’
खनालले पार्टीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदातामा सिमित बनाईदिएको आरोप लगाएका छन् । उनले लेखेका छन् ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदातामात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराई दियो । कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो’ ।