Logo

‘साच्चै नेकपा एस रावणको टाउको जस्तै भएको हो ?’



  • कमल बुढाथोकी

काठमाडौं,२१ साउन । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ। शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा आज(आइतबार)पनि सदस्यहरुले आ-आफ्ना धारणा राखेका छन्। एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ।

बैठकमा पहिलो दिन १८ जना सदस्यले आफ्नो धारणा राखेकोमा बाँकी सदस्यले आइतबार आफ्नो धारणा राखिरहेका छन्। बैठकले आगामी केन्द्रीय कमिटी बैठक र पोलिटब्यूरो बैठकका एजेण्डा तय गर्ने बताइएको छ।

स्थायी कमिटी बैठक चलिरहँदा सम्मानित नेता झलनाथ खनालले आफ्नो फरक मतसहित १६ पेज लामो दस्तावेज प्रस्तुत गरेपछि नेताहरू झस्किएका छन्। आइतबारको बैठकमा खनालले पार्टी गठनदेखि अहिलेसम्म भए गरेका कामहरूको समीक्षा गर्दै ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ शीर्षक राखेर दस्तावेज पेश गरेका हुन्।

आफ्नो दस्तावेजमा खनालले तत्कालिन अवस्थामा जून उत्साहका साथ एमाले विभाजन गरेर नेकपा एस बनाइएको थियो त्यो क्रमश हराउँदै गएको उल्लेख गरेका छन्। विभाजनको औचित्य पूरा नहुँदै अधिकांश कार्यकर्ताले साथ छोड्दै गएको उल्लेख गरेका छन्। पार्टी गठनपछि भएका तीनै तहका निर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएको नेकपा एसलाई सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले मतदातामात्रै बनाएको आरोपसमेत लगाएका छन्।

खनालले आफ्नो दस्तावेजमा पार्टी रावणको टाउको जस्तो कामै नलाग्ने भएर गएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस हुन्छ। त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ। हुनुपर्ने ठीक उल्टो हो।’

खनालले आफ्नो दस्तावेजमा पार्टीलाई रावणको टाउको जस्तो कामै नलाग्ने भनेपछि पार्टीभित्रसमेत एक प्रकारको बहस सुरु भएको छ। के साच्चै नेकपा एस रावणको टाउको जस्तै काम नलाग्ने भएकै को त ? यो प्रश्न स्वतः खडा भएको छ। नेकपा एसले वर्तमान अवस्था र आगामी कार्यदिशालाई हेर्दा नै प्रष्ट हुन्छ कि शीर्ष नेता नै पार्टीको आगामी भविष्यलाई लिएर विश्वस्त छैनन्।

एमालेको काठमाडौंमा सम्पन्न तत्कालिन नवौं महाधिवेशनमा हालका एमाले अध्यक्ष केपी शर्मा ओली र हालका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल (तत्कालिन एमालेमा वरिष्ठ नेता) प्रतिस्पर्धा गरेका थिए। अध्यक्ष पदमा ओलीसँग नेपाल थोरै मतले पराजित भएका थिए। अध्यक्षमा पराजित भएपनि अन्य पदाधिकारीहरुमा नेपाल निकट नेताहरूको वर्चस्व कायमै थियो। दुई नेताबीच झण्डै ५०-५० को हाराहारीमा नेता कार्यकर्ता रहेको एमाले नेताहरु बताउँछन्। २०७८ सालको भदौमा तत्कालिन एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए।

तत्कालिन नेकपालाई २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले अलग गराएपछि भएको शक्ति संघर्षमा नेपाल र ओली हाराहारीमा थिए। तर, एमाले विभाजनका बेलामा माधव नेपालले विश्वास गरेका नेताहरू योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, भीम आर्चाय, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल, वामदेव गौतम, सुरेन्द्र पाण्डे, भीम रावललगायत एमालेमै बसेपछि पार्टी विभाजनको पहिलो गासमै नेपाललाई ढुंगा लागेको थियो।

माधव नेपालको साथ छोडेर एमालेमै बसेबापत एमालेका दुई नेताहरू भीम आचार्य र अष्टलक्ष्मी शाक्यले छोटो समय मुख्यमन्त्री बन्ने अवसर पाए। शाक्य नेपालकै पहिलोको महिला मुख्यमन्त्रीका रुपमा बागमतीको मुख्यमन्त्री बनेकी थिईनभने आचार्य कोशीका मुख्यमन्त्री भएका थिए।

पार्टी विभाजनको बेलामा एमाले नेतृत्वप्रति दर्जनौं आरोप र आक्षेप लगाउँदै नयाँ पार्टी गठन गरेका नेपाललाई अहिले आफ्ना कार्यकर्ता जोगाउने र पार्टी विभाजनको औचित्यसमेत पुष्टि गर्न हम्मेहम्मे परेको छ। लगाताररूपमा पार्टीको खस्कँदै गएको छवि र निरन्तर कार्यकर्ताले पार्टी छोडिरहेको अवस्थामा नेकपा एस साच्चै झलनाथ खनालले भनेजस्तै रावणको टाउको जस्तो कामै नलाग्ने भएको त हैन? भन्ने प्रश्न खडा भएको छ।

नयाँ पार्टी गठन गरेको दुई वर्ष पुग्न नपाउँदै हालसम्म १४ जना जिल्ला अध्यक्ष, ३० जना केन्द्रीय सदस्य र पूर्व सांसद तथा ४ जना पदाधिकारीले नेकपा एस छाडेर आफ्नो पुरानै घर एमालेमा फर्किसकेका छन्।

को-को फर्किए हालसम्म एमालेमा
नेकपा एसबाट बिद्रोह गरेर शनिबारमात्र सिन्धुपाल्चोक इन्चार्ज तथा पूर्व सांसद सुवाश कर्मार्चाय एमाले प्रवेश गरे। उनलाई एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुले स्वागत गरे। यसअघि दुई दिनअघिमात्र केन्द्रीय सदस्य डिल्ली आर्चाय एमाले प्रवेश गरेका थिए। उनी मधेश प्रदेशका पूर्व सांसदसमेत हुन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसारमा साउन ७ गते रामेछाप जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत एमाले प्रवेश गरेका थिए। उनी एमाले प्रवेश गर्नु अघिल्लो दिनमात्रै तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेताहरु एमालेमा फर्किएका थिए।

त्यसअघि नेकपा एसबाट बिद्रोह गरि मकवानपुर, गुल्मी, दाङ, रसुवा, जुम्ला, रुकुम पश्चिम, बारा, डोल्पा, अछाम जिल्ला अध्यक्षहरु एमालेमा फर्किसकेका छन् भने तारा लामा तामाङ र प्रेम महर्जन एमालेमा फर्किर संघीय सांसदसमेत बनेका छन्।

त्यस्तै, पार्टीमा तेस्रो वरियतामा रहेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, केन्द्रीय सदस्यहरु शारदा स्वर्णाशंकर, हिराचन्द्र केसीलगायतले पार्टी त्याग गरेर एमालेमा फर्किएका छन्।

पार्टीमै रहेका प्रतिनिधिसभाका सांसददेखि पदाधिकारीसम्म असन्तुष्ट रहेका छन्। सांसदहरु किसानकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका छन्। तर, नयाँ पार्टी गठन भएको ५ वर्षसम्म विभाजन हुन नसक्ने कानून भएको कारण पार्टी विभाजन गर्न नसकेको केन्द्रीय नेताहरुनै स्वीकार गर्छन।

पार्टी सचिव रामकुमारी झाँक्रीसमेत पार्टी नेतृत्वसँग असन्तुष्ट रहेकी छन्। नयाँ पार्टी गठनको बेलामा माधव नेपाललाई सबैभन्दा दरिलो साथ दिएकी उनै झाँक्रीसमेत नेतृत्वसँग असन्तुष्ट छिन्। स्रोतका अनुसार उनको हाल पार्टी अध्यक्ष नेपालसँग बोलचालसमेत बन्द छ। उपयुक्त मौका मिलेमा पुरानै घर एमालेमा फर्किने उनको तयारी छ। तर, यसबारेमा स्वतन्त्र पुष्टि हुन भने सकेको छैन।

नेकपा एसमा सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरु पार्टीमा पछिल्लो समय असन्तुष्ट रहेका छन्। नयाँ जोस जाँगर र उमंग लिएर गठन भएको पार्टी दुई वर्ष नपुग्दै आन्तरिक किचलो र असन्तुष्टिको भड्खालोमा परेपछि नेकपा एसका सम्मानित नेता खनालले भनेजस्तै कतै पार्टी रावणको टाउको जस्तो कामै नलाग्ने अवस्थामा पुग्ने त होईन ? भन्ने प्रश्न सर्वत्र खडा भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot