Logo

९० हजार श्रीलङ्काली खडेरीको चपेटामा



एजेन्सी । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ। पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो।

सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन्। एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ।

वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन्। खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ। गत वर्ष विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी०ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो। यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ।

दश लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन्। डब्ल्युएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ। विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कूलहरूमा चामल वितरण गरिएको थियो। एक्काइस प्रतिशत श्रीलङ्काली सन्तुलित भोजनबाट वञ्चित छन्।

जग्गा भाडा, श्रमशक्ति, इन्धन, कृषि सामग्री र ऋण भुक्तानीमा भएको उच्च खर्चका कारण कृषि गतिविधिमा संलग्न घरपरिवारको ज्यादै घटेको छ। सामाजिक सुरक्षा, निवृत्तिभरण र मानवीय सहायतामा भर परेका परिवारहले गत वर्षको तुलनामा यो वर्ष आम्दानी स्थिर रहेको बताएका छन्। अदक्ष श्रम, कृषि, निवृत्तिभरणमा निर्भर परिवारको अनुपात बढेको छ। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot