Logo

एमालेप्रति विडारीको आक्रोशः ‘राज्यको ढुकुटीबाट ग्वामग्वाम खाने अनि भुँडी पल्टाउँदै संसद् अवरुद्ध गर्ने ?’



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले पुँजीवादी व्यवस्था रहेसम्म संसारबाट भ्रष्टाचार अन्त्य नहुने बताए । उनले विश्वका विभिन्न देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने गरेको र त्या दैनिक भ्रष्टाचारकै कारण मृत्युदण्ड पाइरहँदा पनि भ्रष्टाचार अन्त्य हुन नसकेको बताए ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले दलहरुका नेताहसँग आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचारलाई निवारण र न्युनीकरणमात्रै गर्नसक्ने बताए । उनले उक्त काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुरु गरिसकेको पनि दाबी गरे ।

अहिले एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरिरहेको बताउँदै उनले संसद् अवरुद्ध गर्नु जनताप्रतिको अपराध भएको टिप्पणी गरे । संसद् अवरुद्ध गर्ने भए त्यो दिनको तलब भत्ता नलिन, सरकारी गाडी नचढ्न र अंग रक्षकको सुविधा नलिन उनले एमाले नेताहरुलाई चुनौति दिए ।

‘संसद् अवरुद्ध गर्नु भनेको जनताप्रति अपराध गर्नु हो । संसद् अवरुद्ध गर्ने हो भने सरकारी गाडी नचढी आउनुस् । त्यो दिनको भत्ता नखानुस् । त्यो दिनको सरकारी तलब नलिनुस् । त्यो दिन अंग रक्षकहरु हटाउनुस् । राज्यको ढुकुटीबाट ग्वाम ग्वाम खाँदै भुँडी पल्टाउँदै अनि संसद् अवरुद्ध गर्ने ?’– उनले प्रश्न गरे ।

संसदीय समिति बेइमानी गर्न बनाउने समिति भएको उनको दाबी छ । संसदीय समितिले भ्रष्टाचारी को हो भनेर भन्न नसक्ने उनले बताए ।
‘को भ्रष्टाचारी हो भनेर मैले भन्न सक्दिन । त्यो सिआईबीले भन्छ । उसलाई अधिकार दिएको छ । संसदीय समिति भनेको त बेइमानी गर्न बनाउने समिति हो,’– उनले भने ।

सबै दलको सांसदहरु मिलेर बन्ने संसदीय समितिमा मुद्दालाई झामझुम बनाउने खोजेको उनले बताए । मदन भण्डारीको हत्याको अनुसन्धानमा समेत संसदीय समितिले काम गर्न नसकेको उनको दाबी छ ।

‘संसदीय समितिले गर्नुपर्छ भनेको चाहिँ अहिलेको काम रोक्नुपर्छ । प्रचण्डले गर्न लागेको काम रोक्नुपर्छ भनेको हो । राजनीतिक मान्छेले कसरी छानविन गर्छ ? उ विज्ञ हो ? उसको दक्षता छ ? उ अनुसन्धान अधिकारी हो ?’– उनले प्रश्न गरे ।

उनले संसद् आफैंले ऐन बनाएर भ्रष्टाचारको अनुसन्धानको काम सिआईबी, अख्तियार र राजश्व अनुसनधानलाई दिएको स्मरण गराउँदै उनले संसदीय समिति बनाउने हो भने ओलीले उक्त ऐनमा हस्ताक्षर गरेको होईन भन्न सक्नुपर्ने बताए । संसदीय समितिको माग र संसद् अवरुद्ध बेठीक कुरा भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्