काठमाडौं,२३ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षात्का कारण देशैभरका प्रमुख राजमार्ग अवरुद्ध बनेको छ भने जनजीवन कष्टकर बनेको छ ।
रातिदेखि परेको लगातारको वर्षात्का कारण अवरुद्ध बनेको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कालिखोला नजिकै पहिरो खस्दा रातिदेखि अवरुद्ध बनेको सडक विस्तारै दुईतर्फी खोल्ने प्रयास भईरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार देशभर अहिले दर्जनौं सडक अवद्ध बनेको छ । वर्षाका कारण मकवानपुरको कान्ती लोकपथ अवरुद्ध बनेको छ । त्यस्तै नुवाकोटको पासाङल्हामु सडकसमेत अवरुद्ध भएको छ भने म्याग्दीको बेनी जोमसोम सडक पनि अवरुद्ध बनेको छ ।
त्यस्तै कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो । भिमदत्त राजमार्ग अहिले अवरुद्ध छ ।
कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले यो सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्यूठानको भालुवाङ सडक खण्ड भने अवरुद्ध भएको छ । यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
पूर्वी नेपालतर्फ पाँचथरको तमोर कडिडोर अवरुद्ध बनेको छ । पाँचथरको फिदिम ४ मा पहिरो गएको हो । काभ्रेको वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका कालढुंगामा सडक अवरुद्ध बनेको छ । वीपी राजमार्गको सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।