Logo

सुन तस्करी प्रकरणमा हामीलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका छः एमाले सांसद गैरे



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले एक क्वीनटल सुन तस्करी प्रकरणमा एमालेलाई गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्रीलाई बोलाएर प्रहरीले बयान नलिने भएकाले उच्चस्तरीय छानविन समितिको आवश्यकता परेको बताए ।

‘यो विषयमा हामीलाई सरकारको नेतृत्वमा रहेका मानिसहरुको संलग्नताको आशंका छ । हामीलाई गृहमन्त्री प्रति आशंका छ, अर्थमन्त्रीप्रति आशंका छ । सरकारको उच्च पदस्थ संयन्त्रप्रति आशंका छ । त्यो तहलाई सिआईबीले अनुसन्धान गर्न सक्दैन । सिआईबीले गृहमन्त्रीलाई बोलाएर बयान लिन्छ त ?’ प्रश्न गर्दै उनले भने, ‘लिँदैन । अरु पनि यस्ता मान्छे हुनसक्छन्, जसलाई हाम्रो मातहतको आजको अनुसन्धानको अंगहरुले त्यो काम गर्न सक्दैनन् ।’

गृहमन्त्रीले प्रतिनिधि सभामा चित्तबुझ्दो जवाफ नदिएको उनको भनाई छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंकित भएर असहिष्णुताका साथ प्रस्तुत भएको उनको आरोप छ ।

‘गृहमन्त्री यति असहिष्णुताका साथ प्रस्तुत हुनुभयो, उहाँ किन त्यत्तिधेरै आतंकित हुनभएको थियो ? मैले कुरा बुझ्न सकिन । उहाँको प्रस्तुतिले बन्न लागेको सहज परिस्थिति पनि विग्रेर गयो,’– उनले भने ।

एक सय किलो सुन प्रकरणले नेपालको अन्तराष्ट्रिय जगतमा बेइजति भएको उनले बताए । साथै, देशको शान्ति सुरक्षामाथि नै खतरा पैदा भएको कुरा सबैले आत्मसात गर्दै आगामी दिनमा यो परिस्थिति नदोरिने सुनिश्चितताको लागि छानविन समिति बनाउन आवश्यक रहेको सांसद गैरेले बताए ।



प्रतिक्रिया दिनुहोस्