काठमाडौं,२४ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले पटक-पटक सदन अवरुद्ध हुँदा जनजीविकाका धेरै कुराहरु सम्बोधन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेकी राईले सरकार स्वयंले सदन अवरुद्ध हुँदा हाईसन्चो मानेको अनुभूती भएको बताईन् ।
उनले भनिन् ‘सरकारको काम सदनको हिसाबले हेर्दाखेरी एउटा त सदनलाई बिजनेस दिनुपर्यो । उपयुक्त रुपमा । अर्को सदनमा यदि कुनै दलको केही माग हुन्छ भने प्रतिपक्षीले सदन अवरुद्ध गर्छ भने, त्यो प्रतिपक्षीसँग बसेर छलफल गरेर, कुरा सुनेर, माग सम्बोधन गरेर सदनलाई सूचारु गराउनुपर्यो । यो नै सरकारको कर्तव्य हो । तर अहिले के देखियो भने यतिधेरै जनजीविकाका सवालहरु उठिरहेका छन् । थुप्रै कुराहरु छन् हामीले उठाउनुपर्ने । सम्बोधन गर्नुपर्ने । तर सरकारलाई हाईसन्चो के हुँदो रहेछ भने सदन अवरुद्ध भयो भन्यो । प्रतिपक्षसिँग वार्ता गरेर विश्वासमा लिने काम गर्नुभन्दा बरु सम्बोधननै गर्नुपर्दैन यी जल्दाबल्दा विषयमा भन्ने लागेर बरु सदैव सदन अवरुद्ध भईदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ ’ ।
उनले प्रतिपक्षीलाई विश्वासमा लिनका लागि उच्चस्तरीय छानविन समिति बनाउन सरकार डराउन नहुने बताईन् । उनले यस्ता विषयमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताईन् ।
राईले भन्सार,विमानस्थललगायतका निकायमा सक्षम कर्मचारी भएपनि सेटिङका आधारमा अपराधिक कार्य हुने गरेको कारण देशले बदनामी खेपिरहेको बताईन् ।