Logo

देउवाले बोलाए संसदीय दलको समिति बैठक



काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।

देउवाले संसद्मा भईरहेको अवरोध लगायतका बारेमा छलफल गर्न बिहीबार दिउँसो ४ बजेका लागि दलको समिति बैठक बोलाएका हुन् ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । पछिल्लो समयका संसदीय दलको समिति बैठकमा भने देउवाले उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङलाईसमेत बैठकमा बोलाउने गरेका छन् ।

गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद्मा अवरोध गरिरहेको छ ।

नेपाली कांग्रेसभित्र पनि सांसद सुनिल शर्मालगायतका एउटा पक्ष उच्चस्तरीय समिति बनाउनुपर्ने पक्षमा छन् । आजको बैठकमा उक्त विषयमा समेत छलफल हुन बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्