काठमाडौं, २५ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको ठूलो रोग भ्रष्टाचार भएको र यसको उन्मुलनका लागि सरकारले अझै सशक्त कदम चाल्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा संघीय सरकारका मन्त्रीहरूसँग यस आर्थिक वर्षको कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘सरकारका भ्रष्टाचारविरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएका छन्। मुलुकको विकास तथा समृद्विको ठूलो रोग भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्नेछ। यसका लागि सबैको सहयोग र समर्थनको अपेक्षा गरेको छु।’