काठमाडौं, २८ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी गर्दा सरकारमा रहेका दुई मन्त्रीहरू भने तनावमा परेका छन्।
प्रधानमन्त्री दाहालले माओवादी कोटाबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर भएपनि जनमत पार्टीलाई सरकारमा ल्याउने केही समय अगाडि दिएको वाचानुसार अन्तिम तयारी गरेका छन्।
उनले जनमत पार्टीका एक जना सांसद्लाई मन्त्रीको शपथ खुवाउने अन्तिम तयारी गरेका छन् र त्यसका लागि माओवादी कोटाबाट मन्त्री भएकालाई आइतबार नै फिर्ता बोलाउने तयारी गरेका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सांस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई फिर्ता बोलाउने तयारी गरिसकेको र उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिरहेका छन्।
मन्त्री किरातीले आफू हट्ने सुइँको पाएपछि प्रधानमन्त्री दाहाललाई अपठ्यारो परिरहेको उनलाई सहयोग गर्न आफू मन्त्रीबाट हट्न तयार रहेको सार्वजनिकरूपमा नै अभिव्यक्ति दिइरहेका छन्।
यस्तै, प्रधानमन्त्री दाहालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर पार्टीका सिनियर नेता हितबहादुर तामाङलाई शपथ खुवाउने तयारीबारे पार्टीभित्र छलफल गरिरहेका छन्। मन्त्री मोदीले यस्तो सुइँको पाएपछि तानवमा रहेका छन्। मोदी यतिबेला आफूनिकट शीर्ष नेताबाट मन्त्रीबाट नहटाउन प्रधानमन्त्री दाहालसँग लबिङ्ग गरिरहेका छन्।
मोदीलाई प्रधानमन्त्री दाहालले मन्त्रीबाट हटाए शहरी विकास मन्त्रालय सम्हालिरहेकी सिता गुरूङलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी र हितराज गुरूङ्लाई सहरी विकासको जिम्मेवारी दिनेबारे छलफल भइरहेको स्रोतले बताएको छ।
प्रधानमन्त्री दाहाल पर्यटनमन्त्री किराती र सामान्य प्रशासनमन्त्री मोदीको कामलाई लिएर पटकपटक असन्तुष्टी जनाउँदै आएका छन्।