काठमाडौं,२८ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद युवराज चौलागाईले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई राज्यद्रोहको मुद्दा लगाएर पक्राउ गर्न माग गरेका छन् ।
चौलागाईंले आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शर्मामाथि राजनीतिक कारबाही गर्न सत्ता सहयात्री नेपाली कांग्रेसको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । उनले शर्माका पछिल्ला क्रियाकलापलाई माफिया बहुलाएको संज्ञा दिएका छन् ।
चौंलागाईले लेखेका छन् ‘गरिमामय सासंदको लोगो भिरेर ठगी र कीर्ते काण्डमा जो अदालतको तारिख धाइरहेक छ, उसले आफैंले मत हालेको, आफ्नै दलको समर्थन रहेको बहालवाला प्रधानमन्त्री र गृहमन्त्रीलाई सार्वजनिक रुपमा आतंककारी भन्छ भने उसको हैसियत बैचारिक, राजनैतिक र सांस्कृतिक रुपमा हरितन्नम हो । प्रतिनिधी सभा सदस्य सुनिल शर्मालाई एकातिर नेपाली कांग्रेसले राजनैतिक कारवाही गर्नुपर्छ भने अर्कोतिर राज्यद्रोहको अभियोगमा गिरफ्तार गरेर कारबाही गर्नु पर्दछ । माफियाहरु बहुलाएको र माफियालाई गोद लिएको जनताले हेरिरहेका छन् उनीहरुले धेरै चुरिफुरी नगरुन्!’
शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका शर्मा अदालतको आदेशपछि शुक्रबार नै रिहा भएका छन् । उनले पछिल्लो समय सरकारको चर्को आलोचना गरिरहेका छन् । सुन तस्करी प्रकरणमा गृह र हर्थमन्त्रीको राजीनामा मागेपछि उनलाई सुनियोजित ढंगले पक्राउ गरिएको भन्दै तिब्र आलोचना भईरहेको छ ।