Logo

सुन बरामद प्रकरण: थप ३ चिनियाँ नागरिक पक्राउ,पक्राउ पर्नेको संख्या २३ पुग्यो



काठमाडौं,३० साउन । साउन ३ गते सिनामंगलबाट बरामद भएको एक क्विन्टल भनिएको सुन प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दियो । ३ जना चिनियाँ नागरिक पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

ब्रेक-शु सहित १५५ किलो भनिएको सुन आज टक्सार विभागले गाल्दा ६० किलो ७१६ ग्राम मात्रै पाईएको छ ।



प्रतिक्रिया दिनुहोस्