काठमाडौं,३१ साउन । विश्व विद्यालय अनुदान आयोगले कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण सर्टिफिकेट प्रदान गरेको छ ।
मंगलबार सानोठिमीस्थित विश्व विद्यालय अनुदान आयोगको कार्यालयमा आयोजना गरिएको विशेष अवसरमा आयोगले क्याम्पसलाई क्यूएए प्रदान गरेको हो ।
समारोहमा आयोगका अध्यक्ष प्रा.देवराज अधिकारी, मूल्याङ्कन समितिका प्रमुख प्रा।तीर्थ खनिया, प्राडा.बासुदेव काफ्ले र त्रिविका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालसहितको टोली उपस्थित थियो ।
त्रिवि पदाधिकारीले कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल, संस्थापक महेन्द्रबहादुर पाण्डे र प्रिन्सिपल गोविन्दबहादुर कार्की सहितको कोटेश्वर क्याम्पस व्यवस्थापन टोलीलाई क्यूएए सर्टिफिकेट प्रदान गरे ।
देशभरका कलेजमध्ये आयोगको मूल्याङ्कन समितिले यस क्याम्पसलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।
पढाईको गुणस्तर राम्रो भएको, विद्यार्थी संख्या उल्लेख्य भएको, भौतिक संरचनाको अभाव नभएको, दक्ष जनशक्ति भएको लगायत तोकिएको मापदण्ड पुरा गरेका कलेजलाई विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गर्ने गरेको छ ।
सर्टिफिकेट वितरण समारोहमा कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले विभिन्न आरोह अवरोह पार गर्दै ७ वर्षको अथक प्रयासपछि क्यूएए प्राप्त गर्न सकेको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तिकै मेहनत रहेको बताए ।
कोटेश्वर क्याम्पसका प्रिन्सीपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधैँ गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको बताउँदै क्यूएएले क्याम्पसलाई थप जिम्मेवारी थपिएको बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा तीर्थ खनियाले क्यूएए प्राप्त गरेको कलेजलाई धन्यवाद दिदै क्यूएए विश्वविद्यालय अनुदान आयोगको मातहतमा रहनु भन्दा यसको छुट्टै अस्तित्व कायम गरेर अगाडि लैजानुपर्ने आवश्यकता रहेको औंल्याए ।
विश्व विद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजमध्ये ६२ वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरेको छ ।