Logo

मुख्यमन्त्री थापाले विश्वासको मत पाउन जेष्ठ सदस्य मण्डललाई बनाए राज्यमन्त्री



काठमाडौं,३१ साउन । कोशी प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसका सांसद गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको हो । मण्डलले आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पल तथा गोपनियताको शपथ लिएका छन् ।

मण्डल राज्यमन्त्री नियुक्त भएसँगै कोशी प्रदेश सरकार ६ सदस्यीय पुगेको छ । यसअघिनै कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनिसकेका छन् ।

राज्यमन्त्रीमा नियुक्त भएका मण्डल प्रदेश सभाका जेष्ठ सदस्य हुन् । कोसी प्रदेश अहिले सभामुखविहीन छ। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोसी सभामुखविहीन बनेको हो। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन। मुख्यमन्त्री थापालाई बहुमत पुरर्याउन राजीनामा दिएका गौतम हाल प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनर्ने संवैधानिक व्यवस्था छ। सभा चलाउनेले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन। त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले चलाखीपूर्ण ढंगबाट ज्येष्ठ सदस्य मण्डललाई अहिल्यै राज्यमन्त्री नियुक्त गरेका हुन्।

मण्डल राज्यमन्त्रीमा नियुक्त भएपछि उनले सभा चलाउन पाउने छैनन् । हाल मण्डलपछि प्रदेशसभाका दोस्रो जेष्ठ सदस्य रोहितबहादुर कार्की छन् । उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन् । उता प्रदेश सभामा सभामुख र उपसभामुख दुबैको अनुपस्थितीमा सभा सञ्चालन गर्न यसअघि प्रदेश सभाबाट चार सांसद चयन भएका छन् । जसमा कांग्रेसका इस्राइल मन्सुरी, माओवादी केन्द्रकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर विष्ट र नेकपा एमालेका मालतीकुमारी लिम्बू रहेका । सभामुख,उपसभामुख र जेष्ठ सदस्य सबैले सभा सञ्चालन गर्ने अवस्था नबनेमा यी नै चार सांसदले सभाको सञ्चालन गर्नुपर्ने हुन्छ ।

सकेसम्म थापा नेतृत्वको सरकार बन्न नदिने र बनिहालेमा ३० दिनमै ढाल्ने योजना बनाएको एमाले-राप्रपाले पनि जसरी भएपनि सभाको सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्थाको सिर्जना गर्ने एक नेता बताउँछन् । यसअघिनै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुख्यमन्त्रीलाई बहुमत जुटाउन जेष्ठ सदस्यलाई राजीनामा गराएमा राप्रपा र एमालेले पनि जेष्ठ सदस्यलाई अनुपस्थित गराउने चेतावनी दिईसकेका छन् ।

यदि लिङदेनले भनेजस्तै राप्रपा र एमालेले उपसभामुखलाई राजीनामा गराएर जेष्ठ सदस्यपनि अनुपस्थित गराएर सभाको सञ्चालन सत्तारुढ दलकै सांसदले गर्नुपर्ने अवस्था सिर्जना गराएमा भने मुख्यमन्त्री थापाको पद भाद्र १३ गते रिक्त हुने देखिन्छ ।

मुख्यमन्त्री थापा साउन १६ गते नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । साउन १६ गते मुख्यमन्त्री बनेका थापाले जसरी भएपनि भाद्र १३ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । कोशी प्रदेश सभाको बैठक भाद्र १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्