काठमाडौं,३१ साउन । ब्राजिलियन फरवार्ड नेयमार जुुनियर साउदी प्रो लिग क्लब अल–हिलालमा आवद्ध भएका छन्।
३१ वर्षीय नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै साउदी क्लबमा जोडिएका हुन्। नेयमार आगामी २ वर्ष अल–हिलालमा रहने छन्। नेयमार ९० मिलियन युरो प्लस एड–अनमा पीएसजीबाट अल–हिलाल पुगेका हुन्।
अल हिलाल पुगेपछि नेयमारले भने,‘मैले युरोपमा थुप्रै उपलब्धि हासिल गरेर विशेष समयको आनन्द लिएको छु। तर म विश्वव्यापी खेलाडी बन्न चाहान्छु। नयाँ ठाउँमा नयाँ चुनौती र अवसरसँग आफूलाई परीक्षण गर्न चाहान्छु। म खेलकुदमा नयाँ इतिहास लेख्न चाहान्छु त्यसैले साउदी आएको हुँ’ ।
अल हिलालका अध्यक्ष फदाह बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन्।
यता पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक नेयमार जस्ता अद्भूत खेलाडीलाई बिदाइ गर्न सधैँ गाह्रो हुने बताए।
‘नेयमार पीएसजी आएको दिन म कहिल्यै बिर्सने छैन। विगत ६ वर्षमा उनले हाम्रो क्लब र योजनामा ठूलो योगदान दिए’, उनले भने। –एजेन्सीको सहयोगमा