काठमाडौं,३१ साउन । कोशी प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीको सेवा कायमै राख्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगबाट नयाँ कर्मचारी पदपूर्ती भएर नआउन्जेलसम्म अस्थायी र करार सेवाका कमर्चारीको सेवालाई निरन्तरता दिने प्रदेश सरकारले निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । ऐन संशोधनको अभावमा कतिपय कर्मचारीको वृत्ति विकासमा समेत समस्या भइरहेको थियो ।
प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय सेवाको गठन सञ्चालन सेवा तथा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रदेशका कतिपय जिल्लामा देखिएको डेंगी संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।