काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कारागारमा गएर नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई भेट्न पुगेका छन् ।
कोइरालाले बुधबार दिउँसो खाणलाई भेटेको केन्द्रीय कारागार निकट स्रोतले जनाएको छ ।
यसअघि उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाइसकेको छ।
जिल्लाले पनि उक्त आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पठाइसकेको छ।
अब उच्च अदालतले खाणलाई रिहा गर्ने कि जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिन बाँकी छ।
कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला सभापतिका प्रत्यासी थिए। उता केन्द्रीय सदस्यमा मात्रै उठेका खाण भने सभापति देउवाको पक्षमा थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य समेत हरेका पूर्व गृहमन्त्री खाण, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल,बाहालवाला सचिव टेकनारायण पाण्डे लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।