Logo

करोडौं ठगीको आरोपमा सूर्यविनायकका वडा सदस्य रानाभाट प्रहरी खोरमा



काठमाडौं, ३१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाट ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि करोडौंको ठगी गरेको आरोप छ । रानाभाट नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । रानाभाटलाई प्रहरी कार्यालय टेकुले पक्राउ गरेको हो ।

जनप्रतिनिधि रानाभाटले मिटरव्याजीको रुपमा ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी गर्नेहरुमा सानुभाई लोहार, पुतली कामी, थलबहादुर कामी र सहबहादुर कामीले वडा सदस्य रानाभाटविरुद्ध ठगीको मुद्दा दर्ता गरेका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्रहरीले २९ गते पक्राउ गरेको हो । पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।वडा सदस्य रानाभाटले जग्गा आफ्नो नाममा नामसारी गरी तेजबहादुर खड्कालाई १७ लाख ऋण दिएको बताइएको छ ।

आफुले लिएको रकमको साँवा व्याजसहित फिर्ता गरी जग्गा बेचविखन गर्ने तयारीका साथ कुरा गर्दा रानाभाटले साढे दुई करोड दिएमात्र उक्त जग्गा फिर्ता दिने नत्र फिर्ता नगर्ने बताएपछि बाध्य भएर न्यायको लागि प्रहरीमा उजुरी दिनुपरेको पीडितहरुले बताएका छन् । वडासदस्य रानाभाटले उजुरीकर्तासँग साढे दुई करोड मागेको अडियोसमेत प्रहरीमा बुझाएको बताइएको छ ।

विभिन्न समस्याका बाबजुत खड्काको सहयोगीको रुपमा उजुरीकर्ताहरुले भूमिका निर्वाह गरेको बताइएको छ । पहुँचकै भरमा गरिबको सम्पत्ति हडप्ने कार्य गरेको पीडितको गुनासो छ ।

म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाले घटनाको वास्तविकता र कति रकम ठगी गरिएको हो भन्ने टुङ्गोमा पुगि नसकेको प्रहरीले बताएको छ । उजुरीबारे थप अनुसन्धान गरी कानुनी प्रकृया अनुसार दोषी प्रमाणित भए सोही अनुसारको कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot