काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण सत्ता गठबन्धन दलले मिलेमत्तोमा ओझेलमा पार्न लागेको आरोप लगाएका छन् ।
अनुसन्धानमा संलग्न मुख्य–मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र आफू अनुकूलका मान्छे ल्याएर अनुसन्धानलाई फासफुस पार्ने काम हुन लागेको उनको आशंका छ । कु्नै पनि आवरणमा भ्रष्टाचारी छुट्न नहुने उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे ।
अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ।
के यो सत्य हो ? होस गरेस् ,हामी जागा छौँ । अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न ।