काठमाडौं,३२ साउन । नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ ।
गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने निर्णय गरेको थियो ।
सचिवालय बैठकले गरेको उक्त निर्णयबारे पार्टी सबै निकायलाई सर्कुलर पठाईसकेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
सचिवालय बैठकले एमालेले अब हुने सबै कार्यक्रममा केपी ओलीको बाहेक अन्य फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय गरेको कुरा एमालेको केन्द्रीय उद्योग तथा बाणिज्य विभागले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए ।
पार्टी अध्यक्ष ओलीले पनि सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गरेको बताएका थिए।