Logo

लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ पुग्यो



काठमाडौं,३२ साउन । नेपालमा पशुपंक्षीहरुमा पछिल्लो समय महामारी कै रुपमा देखा परेको लम्पि स्किन रोगबाट हालसम्म ४७ हजार ६ सय ४९ वटा पशुको मृत्यु भएको छ ।

प्रतिनिधि सभाको कृषि समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षि विकासमन्त्री डा.वेदुराम भुसालले सो जानकारी गराएका हुन् । भुसालका अनुसार देशैभर हालसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायमै रहेको छ ।

मन्त्री भुसालले सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने र क्षतिपुगेका किसानलाई राहात उपलब्ध गराउने बारेमा सरकार सचेत रहेको बताए । उनले किसानलाई क्षतिपूर्ती दिन नसकेपनि राहात दिने कुरामा भने सरकारसँग निरन्तर छलफल भइरहेको बताए ।

मन्त्री भुसालका अनुसार हाल देशका ७७ जिल्लामध्ये मुस्ताङमा लम्पि स्किन रोग पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । त्यस्तै अन्य प्रदेशमा संक्रमण दर कम हुँदै गएपनि हाल बागमती प्रदेश र मधेश प्रदेशमा भने संक्रमण दर उच्च नै रहेको छ ।

मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्