Logo

राप्रपाले भन्यो- बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्



काठमाडौं,३२ साउन । राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ ।

बिहीबार राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी  विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वास माथि आघात पुर्ने गरी धरानमा सार्वजनिक रुपमा गौरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद् र आपत्तिजनक छ । सामाजिक सदभाव खल्बल्याउने, गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।’

आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान भएको उल्लेख गर्दै सदियैँदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट भएको जनाएको छ।

उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

केही समय पहिले तत्कालीन प्रदेश नम्बर एकको नाम कोशी राखिएको विरोधमा प्रदर्शमा उत्रिएका पहिचानवादीहरुले सुनसरीको धरानमा गोरु काटेर भोज गरेका थिए । उक्त तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपनि केही पहिचानवादीहरु प्रहरीको नियन्त्रणमा पुगेपनि पछि रिहा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्