काठमाडौं,३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभा खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ ।
इन्सेकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि यस्तो निष्कर्ष सुनाएको हो । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा नेतृत्वमा बनेको ४ सदस्यीय स्थलगत अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैद जीवन भुक्तान गरिरहेका विनोद तोलांगी र आकाश बलामीको मृत्यु भएको थियो ।
उनीहरूको यातनाका कारण मृत्यु भएको निष्कर्षसहितको प्रतिवेदन इन्सेकले बिहीबार सार्वजनिक गरेको हो । इन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नुपर्ने लगायतका ८ वटा सुझाव दिएको छ ।
कैदी बन्दीको मृत्यु भएपछि साउन २६ गते इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्की, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, गृह मन्त्रालयद्वारा गठित छानबिन समिति सयोजक कमलप्रसाद पाण्डे, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश निर्देशक भवन भट्ट, कृष्ण बास्तोला, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला, सहितको टोलीले अनुगमन गरेको थियो ।
घटनामा दोषी देखिएको भन्दै प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई प्रहरले नियन्त्रणमा लिएको छ । किटानी जाहेरी परेपछि जेलर राजेन्द्र घिमिरे फरार छन् । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार दुई जना विरुद्ध किटानी जाहेर परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ ।