काठमाडौं,१ भदौं । नेपाल विद्युत प्राधिकरण ३९औं वर्षमा प्रवेश गरेको छ । प्रधिकरणले आज एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा भएको कामको प्रगती विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा काठमाडौंमा भएको कार्यकममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको प्रगती विवरण सार्वजनिक गरेका छन् । घिसिङले सार्वजनिक गरेको प्रगती विवरण अनुसार नेपालमा कूल विद्युत उत्पादन २ हजार ६ सय ८४ मेगावट पुगेको छ ।
आर्थिक वर्ष ७९-८० मा विभिन्न जलविद्युत आयोजना सम्पन्न भई ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भई कुल जडित उत्पादन क्षमता २६ सय ८४ मेगावट पुगेको हो ।
त्यस्तै प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा ४७ लाख ७० हजार ग्राहक रहेकोमा गत आर्थिक वर्षमा झण्डै ८ प्रतिशतले वृद्धि भई ५१ लाख ३० हजार जना पुगेको उल्लेख गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको आफ्नो प्रतिवेदन अनुसार ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारण लाइन र ३ प्रतिशतले सौर्य उर्जागरी हाल ९८ प्रतिशत नागरिकको घरमा विद्युत सेवा पुगेको छ । प्राधिकरणले आगामी २ वर्षभित्रमा सबै नागरिकलाई विद्युत सेवा पुर्याउने लक्ष्य राखेको छ ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नेपालमा विद्यूत चुहावट दर १३ दशमलव ४६ प्रतिशतमात्रै रहेको थियो । यो नै नेपालमा सबैभन्दा कम दरको विद्यूत चुहावट भएको प्राधिकरणको दाबी छ । तर, प्राधिकरणको नाफामा भने उल्लेख्य मात्रामा कटौती आएको छ । गत आर्थिक वर्षमा जम्मा १२ अर्ब ३३ करोडकोमात्रै प्राधिकरणले नाफा हासिँल गरेको छ । जून अघिल्लो आर्थिक वर्षको तूलनामा ७ दशमलव ७६ प्रतिशतले कमी हो ।