काठमाडौं,१ भदौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले सभामुख पद त्याग गर्नु आफ्नो बाध्यता रहेको दाबी गरेका छन् । शुक्रबारबाट सुरु भएको प्रदेश सभा बैठकमा बोल्दै उनले आफु उम्किने कुनैपनि ठाउँ नपाएपछि बाध्य भएर राजीनामा दिएको प्रष्टीकरण दिएका छन् ।
उनले भने,‘कहिले भूमिका निभाउने क्रममा यस्तो ठाउँमा पनि पुगिँदो रहेछ त्यहाँ निकास हुँदैन रहेछ । अगाडि बढ्ने बाटो नै नहुँदो रहेछ । उनले बाहिरबाट हेर्दा यसो गरेको भए हुन्थ्यो उसो गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यही पसेपछि अन्धकार नै हुँदो रहेछ । मेरो नाममै त्यो परिस्थिति सृजना हुनुमा एक हिसाबले सौभाग्य पनि ठान्छु अर्को हिसाबले दुर्भाग्य ठानेको छु । मैले गरेको कार्य भविष्यसम्म पनि चर्चाको विषय रहने छ । सम्झिरहने विषय बन्ने छ । प्रदेश सभाको इतिहासमा दर्ज हुनेछ । यसबाट भाग्ने ठाउँ पनि छैन ।’
उनले प्रदेश सभामा बोल्दै आफू सभामुख हुँदा निष्पक्ष भएर काम गरेको दाबी गरे । फरक भूमिकामा प्रस्तुत हुँदा मनमा थुप्रै अनुभव र अनुभूतिहरू आउने र जाने भइरहेको भन्दै एक महिना आफ्नो जीवनमा ठुलो उथल पुथल भएको बताए । उनले भने,‘यो मेरो जीवनको पनि उथल पुथलको घटना हो । प्रदेश सभामा पनि आफ्ना कारणले प्रदेश सभामा पनि उथल पुथल भयो ।’