Logo

ओली-रावल भेटवार्ताः जिम्मेवारी दिने कुरै भएन



काठमाडौं, २ भदौ । नेकपा (एमाले) का नेता भीम रावलले लामो समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गत मंगलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा भएको उक्त भेटवार्ताको चाँजोपाँजो पार्टी उपाध्यक्ष विष्णु पौडेलले मिलाएका थिए । रावल र ओलीबीच गत ११ महिनादेखि भेटघाट नै थिएन ।

ओली–रावलबीचको लामो समयपछिको भेटवार्तालाई नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुले उत्साहका रुपमा लिएका थिए । पार्टीमा जिम्मेवारी पाएर रावल फेरी सक्रिय राजनीतिमा फर्किने धेरैको अनुमान थियो । तर, भेटवार्तामा जिम्मेवारी दिने विषयमा ओली प्रवेश नै गर्न नचाहेको रावलले बताए । ओलीले अहिलेको राष्ट्रिय सन्दर्भमा एमालेको राजनितिक भूमिका र पार्टीलाई सुदृढ बनाउने कुरामा प्रवेश नै गर्न नचाहेको रावलको भनाई छ ।

‘त्यो (जिम्मेवारी) सम्बन्धमा हाम्रो खास्सै विषय प्रवेश भएन । सामन्य कुरा भयो । अहिले वर्तमान राष्ट्रिय सन्दर्भमा राजनीतिक दलको भूमिका के हो ? त्यसमा पनि नेकपा एमालेको भूमिका के हो ? कसरी जाने ? विभिन्न व्यक्तिहरु जसले इतिहासको कालखण्डमा विभिन्न भूमिका खेलेका छन् । पार्टीलाई सुदृढ बनाउने कसरी जाने भन्ने विषयमा हामी प्रवेश नै गरेनौं,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रावलले भने ।

रावलले भेटमा सामन्य दृष्ट्रिकोण आदान प्रदान बाहेक कुनै विषयमा प्रवेश गरेर ठोस छलफल हुन नसकेको बताए । पदीय जिम्मेवारीको सन्दर्भमा कुनै कुरै नभएको उनको भनाई छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्