Logo

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा



काठमाडौं, २ भदौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टीकोणले सुदूरपश्चिमले सधैँ अग्रणी भूमिका निर्वाह गरेको बताए।

सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे। मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए।

“क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ”, उनले भने। प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परीणाममुखि काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफनो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताए। उनले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्