Logo

बालबालिकाका क्षेत्रमा लगानी घटाउन हुन्न : उपसभामुख राना



काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएका छन्। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरे।

उपसभामुख रानाले सडक बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका साथै बालविवाहको अन्त्य र उनीहरुको शिक्षा तथा पोषणमा सरकार र गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले ‘सिजप दुई दशक’ पुस्तकको लोकार्पण पनि गरे।

परिषद्का सदस्य सचिव इन्द्रदेवी ढकालले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कामका लागि स्रोत र साधनको पर्याप्तता नभए पनि आफूहरुले सक्दो प्रयास गरेको बताए। राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अभियानलाई परियोजनाका आधारमा नभई वास्तविक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गरे। रासस



प्रतिक्रिया दिनुहोस्