Logo

नेकपाका प्रवक्ता प्रकाण्डलाई धमलाको प्रश्न ‘समाजवादी मोर्चा हरायो, कहाँ गयो ?



काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले समाजवादी मोर्चाले देशव्यापी रुपमा नयाँ सन्देश दिएको बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चार पार्टीले परिकल्पना गरेको मोर्चा सार्वजनिक भएसँगै देशव्यापी रुपमा नयाँ सन्देश उत्साहवर्दक ढंगले गएको बताएका हुन् ।

‘यो देशमा चार वटा पार्टीले समाजवादी मोर्चाको जसरी परिकल्पना गर्यो, त्यसको एउटा निश्चित अवधारणासहित सार्वजनिक भएपछि देशव्यापी रुपमा नयाँ सन्देश जोडतोडले गएको थियो । उत्साहवर्दक ढंगले गएको थियो,’– प्रकाण्डले भने ।

‘समाजवादी मोर्चा हरायो, कहाँ गयो भनेर जनताले प्रश्न गरे’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘ हराएको छैन । चार वटा पार्टीका आफ्ना–आफ्ना विशेषता, आफ्ना आफ्ना पार्टीगत कार्यक्रमहरु र त्यसपछि त्यसको संयुक्त प्रतिनिधित्व गर्ने समाजवादी मोर्चा हुनुले त्यो बीचमा तालमेलको केही अभाव चाहिँ भएको हो । गति मन्दताजस्तो आम जनताले फिल गरे । तर, आजको बैठक र यसले गरेको निर्णयसम्म आउँदा त्यो सबैको जवाफ दिएको छ ।’

बैठकमा देशको स्थितिको बारेमा विश्लेषण भएको उनले बताए । देशको अवस्था निरन्तर नाजुक हुँदै गएको समाजवादी मोर्चाको ठहर रहेको उनले बताए ।

देशको स्वाधीनतामाथि खतरा रहेको निष्कर्षमा समाजवादी मोर्चा पुगेको उनको भनाई छ । उनले सरकारले कतै पनि खुट्टा नकमाएर भ्रष्टाचार मुद्दालाई अगाडि लानुपर्ने र समाजवादी मोर्चाले यसलाई पूर्ण समर्थन गर्ने निर्णय भएको उनको भनाई छ । साथै, उनले समाजवादी मोर्चाको प्रदेशस्तरीय कार्यक्रमको घोषणा भएको बताए ।



प्रतिक्रिया दिनुहोस्