Logo

प्रहरी अधिकारीहरुको सरुवा नियमित होः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी अधिकारीहरुको सरुवा नियमित भएको बताएका छन् ।

आज (मंगलबार) सर्वदलीय बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यसमा कुनै शंका मान्नुपर्ने आधार नै नभएको बताएका हुन् ।

हिजो (सोमबार) गृहमन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको थियो ।

उक्त प्रकरणको अनुसन्धानमा संलग्न काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरिएको थियो ।

प्रहरी अधिकारीद्वयको सरुवालाई लिएर सर्वसाधरणले समेत सरकारमाथि प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले प्रहरी अधिकारीको सरुवा नियमित प्रक्रिया भएको र शंका गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजको सर्वदलीय बैठक नबसेको बताउँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै संसद् गतिरोध अन्त्य हुनेमा आफू विश्वस्त रहेको समेत बताए । Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot