Logo

कोशी प्रदेशमा संसदीय अपराध भयोः प्रमुख सचेतक भण्डारी



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संसदीय मूल्य, मान्यताको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले उक्त कार्यलाई संसदीय अपराधको संज्ञा दिए ।

हिजो (सोमबार) मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता ग्रहण गरिरहेका इस्राइल मन्सुरीले समेत मत दिएका थिए । एमालेले उक्त कार्यको नाराबाजी गरेपनि मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए । नेपालको संविधान (२०७२) को धारा १८६ मा स्पष्ट रुपमा अध्यक्षता गर्ने व्यक्तिलाई मताधिकार नहुने उल्लेख छ ।

‘हामी यसलाई गैरसंवैधानिक, संसदीय मूल्य मान्यताको ठाडो उल्लङ्घन, संसदीय मान्यताको हिसाबले यो संसदीय अपराध भन्छौं । यसले संविधानको धज्जी उडाएको छ, गलत काम भएको र संसदीय अपराध उत्पन्न भएको छ । यसलाई हामी अस्वीकार गर्छौं । जनस्तरमा यो गलत कामको भण्डाफोर गर्छौं, संसद्भित्र प्रतिवाद गर्छौं र अदालतमार्फत न्यायको लडाई लड्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले भने ।

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री उद्धव थापाविरुद्ध अदालत जाने तयारी भइरहेको बताए । ‘यसका विरुद्ध हामी अदालत जाने तयारीमा छौं । सम्भवतः हामी भोलि (बुधबार) नै मुद्दा दर्ता गर्ने कोशिस गरिरहेका छौं । भोलि केही गरी भ्याइएन भने पर्सी (बिहीबार) सम्म अनिवार्य मुद्दा दर्ता गर्छौं,’– उनले भने ।

प्रमुख सचेतक भण्डारीेले मुख्यमन्त्री थापाले विश्वासको मत नपाएको उनको दाबी छ । अब सत्ता गठबन्धनको च्याप्टर क्लोज भइसकेको उनले बताए ।

‘उहाँहरुसँग ४६ मात्रै छ । उहाँलाई विश्वासको मत नै प्राप्त भएको छैन । अब उहाँहरुको च्याप्टर सकियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्