Logo

विपन्न विद्यार्थीलाई न्यौपाने बन्धुको साथ, तीनवटा विद्यालयमा कोष स्थापना



काठमाडौं, ७ भदौ । सिन्धुपाल्चोकको पिपलडाँडाका न्यौपाने बन्धुले विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन् । जिल्लाका तीनवटा विद्यालय सिद्धिकमला माध्यमिक विद्यालय, पिपलडाँडा, दक्षिणकाली आधारभूत विद्यालय, पिपलडाँडा र श्री कृष्ण रत्नगंगा माध्यमिक विद्याय चौतारामा न्यौपाने बन्धुले कोष स्थापना गरेका हुन् ।

पिपलडाँडाका न्यौपाने थरका एकै घरका तीन दाजुभाइ पुण्यप्रसाद, नेत्रप्रसाद र इन्द्रप्रसादले सिद्धि कमलादेवी माविमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृत्तिका लागि दुई लाख ११ हजारको कोष स्थापना गरेका छन् । कोषको ब्याजको रकमबाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा सघाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम सापकोटाले बताए ।

त्यसैगरी न्यौपाने दाजुभाइले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मावि चौतारामा वि.सं. २०५५ मा नै बद्रीनाथ शर्मा स्मृति छात्रवृत्तिका लागि एक लाखको कोष स्थापना गरेका थिए । कोषको रकमलाई बैंकको मुद्दती खातामा राखिएको र ब्याजको रकमबाट वार्षिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आइएको छ ।

दक्षिणकाली आवि पिपलडाँडामा पनि एक लाखको छात्रवृत्ति कोष स्थापना गरिएको छ । सो कोषको रकम पनि विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा उपलब्ध गराउने गरिएको कोषका संस्थापक पुण्यप्रसाद न्यौपानेले बताएका छन् ।

बुबा बद्रीनाथ र आमा गंगादेवी न्यौपानेका तीनै जना छोरा नेपाल सरकारका उच्चपदस्थ अधिकारी हुन् । उनीहरूमध्ये जेठा पुण्यप्रसादले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र स्थानीय विकास मन्त्रालयको सचिव एवं नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरिसकेर सेवानिवृत्त छन् ।

माहिला नेत्रप्रसाद नेपाल सरकारको सहसचिवसम्म भई सेवानिवृत्त भएका छन् । उनले काभ्रेपलान्चोकलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी पूरा गरेका थिए । किान्छा इन्द्रप्रसाद नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भई हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्