Logo

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्पन्न, राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित



काठमाडौं,७ भदौ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आकस्मिक बैठक सम्पन्न भएको छ । आज बसेको कांग्रेसको कार्य समितिको बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदखेशका पूर्व सांसद डा.राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीप्रति सम्मान प्रकट गर्दै भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, ०८० भाद्र ८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घ धादिङको जिल्ला अध्यक्ष बन्नुभएका डा कार्की विसं २०३७ मा नेविसङ्घ महाराजगञ्ज क्याम्पसको अध्यक्ष बनेका थिए ।

विसं २०४३ मा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, विसं २०५३ मा नेपाली कांग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र विसं २०६४ मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ



प्रतिक्रिया दिनुहोस्