Logo

टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेले गराएः रेशम चौधरी



काठमाडौं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले गराएको बताएका छन् ।

आज (बिहीबार) टीकापुरमा आयोजित मृतक टेकबहादुर साउदको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानवादीहरुको आन्दोलनबाट निस्किएको झिल्कोमा रोटी पकाउने काम अरुले गरेको बताए ।

सरकारले सुदूरपश्चिम प्रदेश कायम राख्नुपर्छ भन्ने अखण्ड पक्षधर मुद्दा सम्बोधन गरेपछि टीकापुरमा पहिचानवादीको आन्दोलनले झिल्काको रुप लिएको उनले बताए ।

‘टीकापुरको घटना तिनैले गराए, जसले देशको भावनासँग खेल्न खोजे । बढियाहरु यति खतरनाक हुन्छन्, मान्छेको व्यापारीहरु यति क्रुर हुन्छन् । टीकापुरमा एउटा बच्चाले साहदात प्राप्त गर्यो, देशभरीका लालायित गिद्धहरुले बच्चाको भावनासँग खेल्ने प्रयत्न गर्नथाले,’– चौधरीले भने ।

टीकापुरका जनताले आफूलाई मानीय बनाएर पठाएपनि सांसद् केही मानिसको स्वार्थका कारण आफू संसद् भवन नै छिर्न नपाएको उनले बताए ।

रञ्जिताको आग्रहमा नै आफूले सहिद टेकबहादुर साउदको सालिक बनाएको उनले बताए । उनले आफ्नो चाहना टीकापुरको समृद्धि र विकासमात्रै भएको बताए । आफूले लाखौं हण्डर खाएर टेक बहादुर साउदको सालिक बनाएको बताए । आफूले धेरै हण्डर खाएपनि टीकापुर बनाउने सपना अझै देखिरहेको बताए ।

‘टेक बहादुर साउदको सालिक बन्न लाखौं हथौडाको चुटाइ खानुपर्यो । लाखौं चोटी हथौडाले हानेपछि सालिक बन्यो । यो पीडाको बाबजुद मैले लाखौं हन्डर खाएँ । तर, अठोट अझै पनि एउटै छ, टीकापुर बनाउने । मैले टीकापुरको समृद्धि बाहेक केही देखेको छैन, म अरु जान्दिँन पनि,’– उनले भने ।

रेशमले मृतक टेकबहादुरका बाबु नेत्र साउदलाई अङ्गाले हाल्दै टेकबहादुरको हत्या हुनुमा आफूहरुको संलग्नता नरहेको बताए । आफ्नो र नेत्र साउदको सम्बन्धमा कुनै खोट नरहेको पनि उनले बताए ।

भाइचारा र भातृत्वको रुपमा विकास भएको उक्त सम्बन्धलाई मानव अधिकारवादी र पत्रकारले पनि बुझ्न आवश्यक रहेको उनको भनाई छ ।

मृतक टेक बहादुर साउदका बाबु नेत्र साउदलाई मञ्चमा बोलाएर अङ्गालो हाल्दै उनले भने, ‘यो सम्बन्ध यतिकै बनेको सम्बन्ध होईन् । यो सम्बन्धले हत्या र हिंसा देख्दैन । यो सम्बन्धले भाइचारा देख्छ, भातृत्व देख्छ । यो सम्बन्धले देशमा एउटा सन्देश देओस्, हामी फुटेका छैनौं, जुटेका छौं । मानव अधिकारकर्मी, पत्रकारहरुले यो कुरा बुझुन्, हाम्रो सम्बन्ध त्यत्तिकै जन्मिएको सम्बन्ध होईन । यो सम्बन्धमा खोट छैन ।’

उनले नेत्रलाई सम्झाउँदै भने, ‘भाई तपाईको बच्चा मेरो बच्चा हो । त्यो सहिद मेरो छोरा पनि हो ।’ File Photo/RN 



प्रतिक्रिया दिनुहोस्