काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सिंहले नेपालमा धार्मिक र जातीय द्वन्द्व निम्त्याउन खोजेको हो भन्दै प्रश्नसमेत गरेका छन् । उनले जातीय र धार्मिक युद्ध भए जनयुद्धभन्दा धेरै मानिसहरुले ज्यान गुमाउनुपर्ने बताए ।
“धार्मिक द्वन्द्व, जातीय द्वन्द्व भए जनयुद्धभन्दा धेरै मान्छे काटिनेछन् । यसमा आफ्नो क्षेत्रबाट एलर्ट गराउन चाहन्छु । भारतमा धार्मिक द्वन्द्व, जातीत्व द्वन्द्व भएको छ । यही दिन नेपालमा ल्याउन खोजेको हो ? नेपालमा पनि यही दिन आयो भने के हुन्छ ?,” उनले भने, “यसलाई रोक्नुपर्ने हाम्रो धर्म र दायित्व पनि हो । जो कोही मरे पनि भाइ, छोरा मर्नेछन् । हाम्रै नेपाली काटिने, कटाइने छ । यस्तोलाई कारबाही होस् भन्ने माग राख्न चाहन्छु ।”
सांसद सिंहले यही कारणले भारतको मणिपुरमा जस्तै जातीय र धार्मिक द्वन्द्व भए त्यसको जिम्मेवार को हुन्छ भन्दै प्रश्न गरे ।