काठमाडौं,७ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका साहले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको बताए ।
“गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छन । यही साउन २३ गते सरकार र पीडितबीच ५ बुँदे सहमति भयो । उक्त घटनाको बारेमा पीडितले दिएका जाहेरीमाथि छानबिन गर्ने, मृतकहरुलाई सहीद घोषणा गर्नेलगायतका थिए । तर, केही दिन कथितनबित्दै गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छ । सरकारले धारणा के हो स्पष्ट भन्नुपर्छ, म सरकारसँथ जवाफ माग गर्दछु ” उनले भने, “ नेपालमा कानुनको शासन छ कि छैन ? कानुन लाग्छ कि लाग्दैन ? यदि कानून छ भने कानून सबैलाई लाग्छ भने घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन ? म प्रश्न गर्न चाहान्छु । २०६३ सालको चैत ७ मा भएको नरसंकारकारी गौर हत्याकाण्डमा २८ जनाको नरसंकार गरि विभत्सरुपमा हत्या भएको थियो र त्यसरी भएको विभत्स हत्याको १७ वर्ष पुराहुँदासमेत पीडितले न्याय नपाउने यो पनि तरिका हो ?” ।
साहले रौतहटका जनताले उक्त घटनाको बारेमा सत्यतथ्य छानविन भएर उक्त कलंकबाट मुक्त हुन चाहेको बताए । उनले पुनरावेदन अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त घटनामा पीडित परिवारले दिएको जाहेरी सार्वजनिक गर्न माग गरे । नेपाल प्रहरीले उक्त घटनालाई गम्भीररुपमा नलिएको उनको धारणा थियो ।
साहले पछिल्लो समयमा नेपाल प्रहरीलाई विभिन्न बाहनामा बदनाम गराउने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।