काठमाडौं,७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनर्स्थापना भएको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीेले यसअघिनै त्यागीसकेको राजसंस्था पुनः स्थापनाको एजेण्डा पुनः एकपटक महत्त्वपूर्ण एजेण्डाको रूपमा अघि बढाउने बताएका हुन् ।
उनले भने, ‘संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मूलभूत व्यवस्था जनतामा निहित सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । राजनीतिलाई स्वच्छ तुल्याउन विद्यमान निर्वाचन प्रणाली आम सुधार हुन आवश्यक छ । यो व्यवस्थाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र हुनेछ । विगतमा पार्टीको एजेण्डा राजसंस्था नरहेको भए पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेण्डा रहनेछ । राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्त्वपूर्ण एजेण्डाको रूपमा अघि बढाउनेछ ।’
२०७८ सालको मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा आफ्नै राजनीतिक चेला राजेन्द्र लिङदेनसँग अध्यक्षमा अत्याधिक मतसहित पराजित भएपछि थापाले राजतन्त्रको एजेण्डा त्यागेको बताएका थिए । र पार्टी फुटाउँदै राप्रपा नेपाल गठन गरेका थिए । तर पछिल्लो समय थापा राप्रपासँग निरन्तर सम्वादमा रहेका छन् । राप्रपा अध्यक्ष लिङदेनलाई नेता मानेर अथाडि बढ्न तयार रहेको अभिव्यक्ति दिने थापाले आजको बैठकमा पुनः राजतन्त्रको एजेण्डा उठाउने घोषणालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।