Logo

घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवाखालबाट पक्राउ



काठमाडौं,८ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा लालचनसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

ती ७ जनामध्ये एक गाउँपालिका अध्यक्ष लालचन रहेको प्रहरीले जनाएको छ । घरपझोङ २ घर भएका ५८ वर्षीय लालचनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको थियो । अध्यक्ष लालचन मुख्यमन्त्री कार्यालय, गण्डकीले गत ३ र ४ भदौमा पोखरामा गरेको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए ।

उनी बिहीबार फर्कने भने पनि फर्किएका थिएनन् । गाउँकै आफन्तको होटल भएकाले पोखरा नै बसेका थिए र त्यहीँ तास खेलिरहेका थिए । यो खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो ।

पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।

सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्