Logo

हर्क साम्पाङलाई एमाले नेता बस्नेतको सुझावः ‘पदको दुरुपयोग नगरौं, कानुन पालना गरौं’



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पदको दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

उच्च अदालत विराटनगरले मेयर साम्पाङलाई अर्काको घर जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएसँग एमाले नेता बस्नेतले कानुनको पालना गर्न र पदको दुरुपयोग नगर्न भनेका हुन् ।

हिजो (बिहीबार) उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै मेयर साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो ।

धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउनु भनेको थियो।

तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो। अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो।

विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशसँगै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्ः

धरान,बाँझगराको रोजिना अधिकारीको नाममा रहेको जग्गालाई लिएर मेयर हर्क साम्पाङले गरेको हष्तक्षेप र विवादमा कुनै धरपकड नगर्न, थुनामा नराख्न उच्च अदालतले सुनसरी जिल्ला प्रशासन सहित विपक्षीहरूको नाममा अन्तरिम निषेधाज्ञा जारी गरेछ । पदको दुरुपयोग नगरौं कानुन पालना गरौं। मेयर साप ।



प्रतिक्रिया दिनुहोस्