काठमाडौं,८ भदौ । धरान उपमहानरकाका मेयर हर्कराज राईले सामाजिक सद्धभाग खलबलिने खालका गतिविधि नगर्न सार्वजनिक रुपमा अपील गरेका छन् ।
सुनसरीको धरान क्षेत्रमा केहीदिनअघि पहिचानदावीको समूहले गोरु काटेर भोज गरेको घटना बाहिर आएपछि जातीय र धार्मिक विवादमा फसिरहेको धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढिरहेको र स्वयं मेयर राईसहितको भड्किलो अभिव्यक्तिले तनाव बढिरहेका बेला उनी आफैले आज एक विज्ञप्ति जारी गरेर यस्तो अपील गरेका हुन् ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै उनले चिन्तासमेत जनाएका छन् ।
उनले आफ्नो अपीलमा भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’